मनोज घिमिरे
हाल संचारकर्मी तथा शिक्षित वर्ग भन्नेहरूबाटै गैर जिम्मेवारीपूर्ण तरिकाबाट सामाजिक संजाल तथा केही अनलाइन मिडियामा आउने अभिव्यक्ति तथा खबर हेर्दा साह्रै लाज लाग्छ।
सरकार कोरोना संक्रमणबाट बच्नको लागि आइसोलोसन र सेल्फ कोराइनटाइनमा बस्नू भन्छ, अनि शिक्षित वर्ग भन्नेहरूसँगै संचारकर्मी त्यही भनाइलाई अर्को अर्थमा लेख्न सुरू गर्छन्। अनि भन्छन्, ‘नालायक सरकारले क्वारेन्टाइनमा राख्न नसकेर जनताको स्वास्थमाथि खेलवाड गर्यो।’
सम्भावित कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै सरकार २५ जनाभन्दा बढी मानिसकाे भेला र जमघट हुने कार्यक्रम नगर्नू भनी अनुरोध गर्छ। अनि संचारकर्मी तथा जान्ने भन्नेहरूको फेरि कमेन्ट् आउँछ, ‘ए २५ जनासम्म भेला हुँदा चाहिँ कोरोना नलाग्दो रै’छ है! स्थानीय सरकार ७० वेडको कोरोना विशेष अस्पताल ७२ घन्टामा निर्माण गर्छु भन्छ। अनि केही संचारकर्मी हतारहतार हेडलाइन बनाएर लेख्छन्, ‘चिनियाँ शैलीमा अस्पताल निर्माण हुँदैछ।’ यस्तो समाचार हेर्दा लाग्दैन कि उनीहरु पाका छन्।
सरकार ७० वेड भन्छ, हामी ७० वेडले पुग्छ भनेर प्रश्न तेर्साउँछौँ। अनि चाँडो गर्ने भनेर सरकार ७२ घन्टामा बनाउने भन्छ। हामी ७२ घन्टा बित्न यति बाँकी भनेर कमेन्ट् गर्छाैँ। जान्ने भन्नेहरु ७२ घन्टा बित्न कति बाँकी छ गन्नुस् है भनेर सामाजिक संजालभरी रोइकराई गर्छन्।
सरकार कोरोना भाइरसबाट बच्न एसईई परिक्षा स्थगित गर्छ, हामी लेख्छौँ ‘पहिले नै किन स्थगित गरेन’ भनेर, कहीँकतै परीक्षा चलिरहँदा कोरोना भाइरसको संक्रमण फैलिए हाम्रो अवस्था के हुने भन्ने कुरा हामी सोच्दैनौँ।
हो, निर्णय गर्नु ढिलो भयो। तर सही निर्णय त भयो नि। हाल विश्वको तथ्यांक हेर्दा, अवस्था निकै डरलाग्दो छ। हालसम्म नेपालमा एकजनालाई मात्रै लागेकाे थियाे। त्याे पनि पूर्णरुपमा निकाे भइसकेकाे छ। नेपालमा हालसम्म नफैलिएकाे कोरोना संक्रमण जुनसुकै बेला जसलाई पनि देखिन सक्छ भन्ने कतै हामीले बिर्सिएको त छैनौं? सिङ्गो विश्व अत्तालिरहेका बेला जान्ने र संचारकर्मी भन्ने हाम्रो लेखाइले के हामी सही त गर्दैछौं ? तपाई हाम्रो लेखार्ई सर्वसाधारणको लागि सकारात्मक सन्देश बन्नुपर्छ।
यो सम्वेदनशील समयमा तपाईँ हामी अझ भनौं सम्पूर्ण सचेत नागरिकले सरकारलाई कोरोना भाइरस विरुद्धको यस युद्धमा हातेमालो गर्न जरुरी छ। बेलैमा सोच्न सकेनौं भने तपाईँ हामीले केही दिन अघि एक इटालियन नागरिकले सामाजिक संजालमा कसरी आफ्नै देशका नागरिकहरूको लापरवाहीका कारणले इटालीले आज यो क्षण भोग्दै छ भनेर भनेका कुरा झल्झली सम्झी टाउकोमा हात राखेर बस्नुपर्ने पनि हुनसक्छ भन्ने कुरा बिर्सनु हुँदैन।
अहिले सरकारको विरोधका कुरामा समय खेरा नफालौं, सकिन्छ भने कोरोना भाइरस विरुद्धको यस लडाइमा सर्वसाधारणलाई सचेत गरौँ। एक जिम्मेवार नागरिक बनौं। हुलमुलमा नजाऔं, हरेक पटक बाहिरभित्र गर्दा साबुनपानीले हात धोऔं। सिङ्गो देशलाई तपाईं हामी एकजुट चाहिएको बेला सकारात्मक प्रयासको कदर गरौँ। सम्पूर्ण नेपाली कोरोना संक्रमण हुनबाट बचौँ र बचाऔँ।
लेखक चितवनका पुराना सञ्चारकर्मी हुन्। हाल उनी सिनर्जी एफएममा कार्यरत छन्।
























