परासी, चैत्र ६ । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३५ प ३१२७ नंको मोटरसाइकल गए राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल–१ तुल्सीनगरमा पनि गए राति रोकिराखेकोे ना२ख ७४८३ नंको ट्रकमा लु १४ प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल–१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ।
यस्तै जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन्। काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा ४ ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो। घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ। रासस


























