चितवन, चैत ४। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि उद्योग संघ चितवनले निर्माण गरेको प्रदर्शन केन्द्र (एक्स्पो सेन्टर)को भवनलाई प्रयोग गरिने भएको छ। सेन्टरमा निर्माण गरिने अस्पतालको नाम भरतपुर कोरोना विशेष अस्पताल राखिने छ। यस्तो अस्पताल ७२ घण्टा भित्रै तयार गरिन लागिएको हो ।
भरतपुर महानगरपालिकाको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको थियो। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्वतयारी कार्यदल समेत गठन भएको छ। उक्त कार्यदलले मंगलबार कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने क्षेत्रको निरीक्षण समेत गरिसकेको छ।

अस्पतालमा ५० वटा साधारण शैय्या, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू हुने छ ।
अस्पतालको बहिरंग सेवाको व्यवस्थापनका लागि डा. भोजराज अधिकारी र डा अनिलविक्रम कार्कीलाई दिइने जनाइएको छ। यस्तै, जनशक्ति व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको ।
जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले गर्नेछन्। एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेजले गर्ने छ।अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने जिम्मा भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ, उद्योग संघलाई दिइएको छ।
अस्पतालका लागि आवश्यक पर्नेमध्ये २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर क्यान्सर अस्पतालले उपलब्ध गराउने भएको छ ।अस्पतालमा आवासीय रुपमा नै चिकित्सक र प्यारामेडिक्सहरु खटाइने छ।


























