काठमाडौं, चैत ४ । अभियुक्तको खोजी गर्न भन्दै भारतीय प्रहरीका तीन अधिकारी बर्दीसहित नेपाल प्रवेश गरेका छन्। सहायक निरीक्षक (सई)को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना भारतीय प्रहरी दैलेख सदरमुकाम पुगेका हुन्।
भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेको देखेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी गर्ने र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु दैलेख आइपुगेको बयान दिएका छन्।
ती प्रहरीहरूले एक व्यक्तिको नाम र फोटो लिएर नेपाल आएको जिल्ला प्रहरी कार्यालय, दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए।
प्रहरी निरीक्षक साउदका अनुसार उनीहरु ती अधिकारी गोरखपुर हुँदै दैलेख आएका उनीहरूले माफी मागेपछि छाडिएको छ। भारतबाट सादा पोशाकमा आए पनि होटलबाट बाहिरिँदा भारतीय प्रहरीको पोशाकमै निस्किएको प्रहरीले जनाएको छ। ‘प्रहरी कार्यालय जाँदा सहज हुने सोचेर भारतीय प्रहरीको पोशाक फेरेको उनीहरुले बताएका छन्,’ उनले भने।


























