काठमाडौं, चैत ४ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि साझा यातायातले बसभित्र स्यानिटाइजर छर्केर मात्र सेवा दिन थालेको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बसभित्र स्यानिटाइजर छर्किसकेपछि मात्र आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ। साझाले यही चैत १ गतेदेखि बसमा यो नियम लागू गरेको हो।
हरेक दिन सबै बस सफा गरेर किटाणु नाशक ‘स्प्रे’ गर्ने गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए। ‘बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेका छौँ,’ उनले भने, ‘किनकि यात्रुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो।’
बसका चालक र परिचालकहरुलाई समेत स्वास्थ्य परीक्षण गराएर मात्रै काममा खटाउने गरिएको उनको भनाइ छ। बसका कर्मचारी सबैले अनिवार्य मास्क लगाउने गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सकेसम्म बसमा खचाखच यात्रुहरु नभर्ने पाण्डेले जानकारी दिए।


























