काठमाडौं, फागुन ३० । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा बढी मात्रामा ग्यास सिलिण्डर नराख्न अपिल गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो।
मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने जानकारी दिएकी छिन्।
हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ।
बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले यस महिनादेखी नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि बताएको छ।

























