दमौली, फागुन २९ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ। बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यहाँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन्। भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ। बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन्।
चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ। हालसम्म जिल्लामा सात वटा चितुवा नियन्त्रणमा लिइएको छ। रासस


























