काठमाडौं, फागुन २८। विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार सङ्घको संरक्षक पदबाट राजीनामा दिएका छन्। उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दिनु परेको बताएका छन्। यसैबीच सङ्घले मंगलबार एक विज्ञप्ति जारी गर्दै शाहले दिएको राजीनामा स्वीकृति गरिएको जनाएको छ।
‘ कार्यव्यस्तताका कारणले दिनु भएको राजीनामा सङ्घको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैठकले नेपाल चलचित्र कलाकार सङ्घको स्थापनाकाल देखि नै पुर्याउनु भएको क्रियाशीलता एवम् योगदानको स्मरण गर्दै उनको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ।’
सो वैठकले सङ्घको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। संरक्षकको पदावधि वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने सङ्घका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए।



























