फागुन २८। च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज (बुधबार) राति बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ।
फ्रेन्च क्लब पीएसजीले दोस्रो लेगमा जर्मन क्लब डर्टमण्डलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ। खेल राति पौँने २ बजे सुरु हुनेछ।
पार्क डी प्रिन्सेस रंगशालामा डर्टमण्डविरुद्ध पीएसजी दबाबमा हुनेछ। पहिलो लेगमा २-१ ले पछि परेको पीएसजीलाई जितको विकल्प छैन।
यस्तै घरेलु मैदानमा समर्थकबिना खेल्नु पर्दा पीएसजीलाई थप घाटा हुनेछ। कोरोना भाईरसको संक्रमणलाई मध्ये नजर गर्दै यस खेल बन्द रंगशालामा खेल्न लागिएको हो।
यस्तै पीएसजीलाई मुख्य स्ट्राइकर केलीयन एमबाप्पेको अनुपस्थितिले सताउने छ। अस्वस्थ रहेका एमबाप्पेले खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन।
यता, डर्टमण्डलाई दोस्रो लेगमा केहि सहज हुनेछ। पीएसजीसँग बराबरी खेले डर्टमण्ड अन्तिम आठमा पुग्नेछ।
तर, युवा फरवार्ड अर्लिङ हालाण्ड, जोर्डन सान्चोको उत्कृष्ट लयले डर्टमण्ड जितकै लागि खेल्नेछ। एजेन्सी

























