काठमाडौं, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पतालले निकालेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको जनाइएको छ।
यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको विज्ञप्तीमा उल्लेख छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै गएपनि अझै केही दिन अस्पतालमै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओली यसै साताभित्र अस्पतालबाट डिस्चार्ज हुनेछन्।






















