काठमाडौं, फागुन २५ । एलिसा हेली र बेथ मोनीले शतकीय साझेदारी गरेपछि आईसीसी महिला टि–२० विश्वकप फाइनलमा आयोजक अष्ट्रेलियाले भारतसामु १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो।
अष्ट्रेलियाका ओपनिङ ब्याट्सवुमन एलिसा हेली र बेथ मोनीले १ सय १५ रनको उत्कृष्ट साझेदारी गरे। बेथ मोनी ७८ र निकोला क्यारी ५ रनमा नटआउट रहे। ५४ बलको सामना गरेकी मोनीले १० चौका हानिन्।
७५ रनको महत्वपुर्ण योगदान दिएकी हेली राधा यादवको बलमा वेद कृष्णमुर्तिको हातबाट आउट भइन्। ३९ बलको सामना गरेकी उनले ५ छक्का र ७ चौका प्रहार गरिन्।
तेस्रो नम्बरमा ब्याटिङमा आएकी मेग ल्यानिंग १६ रन जोड्दा पवेलियन फर्किन्। १५ बलमा उनले २ चौका हान्दै १६ रन जोडिन्। राहेल हेनेशले ४ र एशलेग गार्डनर २ रन जोड्दा आउट भए।
भारतका लागि दिप्ती शर्माले २ तथा राधा यादव र पुनम यादवले एक–एक विकेट लिए। शर्माले आफ्नो स्पेलमा ३८ रन खर्चेर २ विकेट झारेकी हुन्। आजको खेलमा शिखा पाण्डे निकै महंगो साबित भइन्।
उनले आफ्नो स्पेलमा ५२ रन खर्चे पनि कुनै विकेट लिन सकिनन्। राजेश्वरी गायकवाडले ४ ओभरमा २९ रन दिइन्।
भारत पहिलो पटक टि–ट्वान्टी विश्वकप उपाधि जित्ने होडमा छ। घरेलु टोली अष्ट्रेलिया पाँचौं पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने सोचमा छ। अष्ट्रेलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि–ट्वान्टीको उपाधि उचालेको थियो।


























