फागुन २४। घरेलु टिम बंगलादेशले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ।
सिलेटमा शुक्रबार राति भएको अन्तिम तथा तेस्रो खेलमा जिम्बावेलाई डिएल पद्दतिको आधारमा १ सय २३ रनले पराजित गर्दै बंगलादेशले सिरिज ३-० ले क्लिन स्विप गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले वर्षाले खेल रोकिनु अघि ४३ ओभरमा ३ विकेट गुमाएर ३ सय २२ रन जोडेको थियो। उसका तमिम इकबाल र लिटोन दासले शतकीय इनिङ्स खेले।
लिटोनले १ सय ७६ रनको शतकीय इनिङ्स खेल्दा इकबाल १ सय २८ रनमा अविजित रहे। जिम्बावेका कार्ल मुम्बाले ३ विकेट लिए।
त्यसपछि जिम्बावेले डिएल पद्दतिमा ४३ ओभरमा ३ सय ४२ रनको नयाँ लक्ष्य पाएको थियो। र, जवाफी ब्याटिङ गरेको जिम्बावे ३७ ओभर ३ बलमा अलआउट हुदै २ सय १८ रनमा समेटियो।
जिम्बावेका सिकन्दर राजाले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। वेस्ले माधिभिराले ४२ रन जोड्दा रेगिस चाकभाले ३४ तथा कप्तान सिन विलियम्सले ३० रन जोडे।
बंगलादेशका मोहमद साइफुदिनले ४ तथा ताइजुल इस्लामले २ विकेट लिए।
जिम्बावेविरुद्धको सिरिज क्लिन स्विप गरेसँगै मश्राफी मोर्टजाले कप्तानी पद समेत छाडेका छन्।
यस अघि पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ६९ रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा जिम्बावेलाई ४ रनले पराजित गर्दै बंगलादेशले एक खेल अगाबै सिरिज २-० ले जितेको थियो। एजेन्सी


























