काठमाडौं, फागुन २४ । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो।
भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ।
जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ गुप्तासँग प्रहरीले ८ सय १४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य दुई लाख ५६ हजार ५ सय २० छ। पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


























