काठमाडौं, माघ ५ । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो। उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ। उप-विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो। पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए। अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए। राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए। गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे।
एपीएफका किशोर महतोले ३ विकेट लिए। अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १/१ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो। एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए। उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे।
यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए। कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए। भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए। किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए। गुलशन झाले २ विकेट लिए। आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए। विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।
यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप यस पटक भने टी-ट्वान्टी फर्म्याटमा भएको हो।
ओमानमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न गरेको हो।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।


























