काठमाडौं, फागुन २३ । राजधानीको टेकूस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट बुधबार भागेका बिरामी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालन भर्ना भएका छन्।
धरान उपमहानगरपालिका वडा नं.१० स्थायी घर भएका ३९ वर्षीय उनी श्रीमतीसँग बिहीबार धरान अस्पताल गएका हुन्। अस्पताल प्रवक्ता समेत रहेका डाक्टर अशोक ऐरकाअनुसार अहिले उनको ‘आइसोलेसन’ वार्डमा उपचार भइरहेको छ।
‘खोकी लाग्ने, ज्वरो आउने देखिएको छैन। हामीले उनलाई अस्पतालमा छुट्याइएको आइसोलेसन क्षेत्रमा सुरक्षित किसिमले उपचार गरिरहेका छौं’, डा. ऐरले भने, ‘उनी आफैँ शंका लागेर अस्पताल आएको हो। अलिक आत्तिने, मानिस तनाब लिने समस्या देखिएकाले हामीले त्यसलाई समेत दृष्टिगत गरी उपचार गरिरहेका छौं।’
टेकूस्थित अस्पतालबाट भागेपछि उनी बिहीबार दिउँसो १ बजे जहाज चढेर विराटनगर विमानस्थल उत्रिएका थिए। उनी भागेको खबर सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले बिहीबार दिउँसो उनको खोजीका लागि प्रहरीमा सर्कुलर गरेको थियो। धरान प्रहरीमा उनले टेकू अस्पतालमा तनाब बढेपछि भागेको छन्।
भुजेल फागुन २० गते कोरियाबाट काठमाडौं आएका हुन्। भोलिपल्ट ज्वरो आएपछि उनी टेकूस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगेका थिए।
‘घरि तातो, घरि चिसो ठाउँमा राख्ने, डाक्टर र नर्सले यता र उता सारेको सारै गरेपछि मलाई तनाब भयो। भागेर घर आएँ’, उनले प्रहरी समक्ष दिएको बयान उदृत गर्दै धरान प्रहरी स्रोतले बतायो।
डाक्टर ऐरका अनुसार अहिलेसम्म उनमा कोरोनाका कुनै लक्षण देखिएको छैन। उनलाई दश दिन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिनेछ। भुजेल कोरोना भाइरस संक्रण उच्च रहेको देश दक्षिण कोरियाबाट फर्किएका हुन्। उनको रगत र खकारको स्याम्पल परीक्षणका लागि काठमाडौं पठाइएको डाक्टर ऐरले बताए।
उनले भने, ‘अहिलेसम्म उहाँमा कोरानाको कुनै लक्षण देखिएको छैन। स्याम्पल टेस्टको रिपोर्ट आएपछि थप कुरा थाहा हुनेछ।’


























