काठमाडौं, फागुन २३ । कोरोना भाइरसको प्रभावले अत्यावश्यकीय वस्तुको अभाव हुने हल्लासँगै खाना पकाउने ग्यास जगेडा राख्न सर्वसाधारण तल्लिन देखिएका छन्। तर, नेपाल आयाल निगमले भने हल्लाको पछि नलाग्न आग्रह गर्दै ग्यास, पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ।
काठमाडौं उपत्यकाका केही स्थानमा ग्यास लिन सर्वसाधारण लाइन नै बस्न थालिसकेपछि निगमले हल्लाको पछि नलाग्न आग्रह गरेको हो।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले माग अनुसार ग्यास एवं पेट्रोलियम पदार्थको बिक्री भइरहेको बताए। उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै मागे जति ग्यास दिन निगम सक्षम रहेको र ग्यास आइरहेको पनि बताए। उनले नाकाबन्दीका क्रममा घरघरमा राखिएका सिलिण्डर अहिले निकालिएको पनि बताए। उनले भने, “त्यहि पनि हामीले भनेजति ग्यास दिन्छौं। कुनै अभाव हुने सम्भावना नै छैन।”
उनले मागभन्दा बढी आपूर्ती भइरहेको र अभावको कुनै सम्भावना नभएको पनि बताए। काठमाडौं उपत्यकामा मासिक औसत ३६ हजार मेट्रि टन ग्यासको माग हुने भएपनि त्योभन्दा बढी आयात भइरहेको बताए। उनले भने, “अघिल्लो महिना ४१ हजार मेट्रिक टन ग्यास आएको छ। त्यो भन्दा अगाडि ३९ हजार मेट्रिक टन आएको थियो। औषमा महिनामा ३६ हजार मेट्रिक टनको माग हो। यो महिना ४५ हजार मेट्रिक टन ग्यास आउँदैछ।” केही उपभोक्ताले भने ग्यास नपाएको गुनासो गरेका छन्।
यता, ग्यास उद्योग संघले पनि ग्यासको अभाव नभएको जनाएको छ। निगमले मागे जति ग्यास दिईरहेको संघका वरिष्ठ उपाध्यक्ष कुशकुमार मल्लीले बताए।

























