काठमाडौं, फागुन २३ । अब बैंकमा सुनचाँदी राखेर ब्याज लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र सार्वजनिक गरेर बहुमूल्य धातु निक्षेपका रुपमा बैंकले जम्मा गर्न पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निक्षेपका रूपमा सुन राख्न पाएपछि वाणिज्य बैंकले सुनको मूल्य बराबर रकमको बढीमा ८० प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन्।
यसअघि ग्राहकले बैंकमा सुन राख्न पाए पनि त्यो निक्षेपका रूपमा थिएन। निक्षेपका रूपमा सुन राख्न पाइने भए पनि सुनका गरगहना, चाँदीलगायत बहुमूल्य धातु भने राख्न नपाइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंककाअनुसार सुनका गरगहनालाई निक्षेपका रूपमा राख्न चाहेमा तिनलाई पगालेर ढिक्का बनाउनुपर्छ।
निक्षेपका रूपमा बैंकमा सुन राख्दा ग्राहकले ब्याज पाउँछन्। निक्षेपका रूपमा सुन राख्दा न्यूनतम २५ ग्रामभन्दा कम राख्न पाइँदैन। निक्षेपको अवधि कम्तीमा तीन वर्ष र बढीमा पाँच वर्ष हुनुपर्नेछ।
यो व्यवस्थाले बैंकमा लगानीयोग्य रकम बढ्ने भएकाले कर्जा प्रवाहका लागि रकम अभाव नहुने राष्ट्र बैंकको दाबी छ। आउँदो तीन महिनाभित्रमा यो व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकको योजना छ।






















