भुटान, फागुन २३ । भुटानमा एक जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। भुटानमा एक अमेरिकी पर्यटकमा कोरोना भाइरस देखिएको हो।
भुटानका प्रधानमन्त्रीले कोरोना भाइरसबाट एक जना संक्रमित भएको जानकारी दिएका हुन्। प्रधानमन्त्री लोते छिरिङले फेसबुकमा एक पोष्ट गर्दै २ हप्ताका लागि विदेशी पर्यटकका लागि सीमाना बन्द गरिएको पनि जानकारी दिएका छन्।
विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसबाट विदेशी पर्यटक संक्रमित भएपछि भुटानले आफ्नो सीमाना विदेशी पर्यटकका लागि बन्द गरेको समाचारमा बताइएको छ।
त्यस्तै राजधानी थिम्पुसहित ३ स्थानका विद्यालय शुक्रबारदेखि २ हप्ता बन्द गरिने भएको छ। भुटान आएका ८ जना भारतीयलाई पनि क्वारेन्टाइनमा राखिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।
भारतबाट मार्च २ मा भुटान आएका ७६ वर्षीय अमेरिकी पर्यटकलाई कोरोना भाइरसले संक्रमण गरेको सिएनएनले जनाएको छ। ज्वरो आएपछि मार्च ५ गते अस्पताल भर्ना गरिएका ती पर्यटकलाई कोरोना भाइरसले संक्रमण गरेको पुष्टि भएको हो।
फेब्रुअरी १० मा अमेरिकाबाट विदेश घुम्न निस्किएका ती पर्यटकले फेब्रुअरी २१ देखि मार्च १ गतेसम्म भारतको भ्रमण गरेका थिए।
भुटानका स्वास्थ्य अधिकारीले संक्रमित अमेरिकी नागरिकको सम्पर्कमा आएका झण्डै ९० जनालाई निगरानीमा राखेको बताएका छन्। अमेरिकी नागरिककी श्रीमति, ड्राइभर र गाइडलाई क्वारेन्टाइनमा राखिएको र उनीहरु कसैमा पनि कोरोना भाइरस नदेखिएको समाचारमा उल्लेख गरिएको छ। एजेन्सी


























