नुवाकोट, फागुन २३ । नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृत भेटिएकी छिन्।
उनले त्रिशुली नदीमा हामफाल्न खोज्दा ज्यान गुमाएको प्रहरी अनुमान छ। युवतीको मृत्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई पक्राउ गरेको छ।
२१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हाम फालेकी थिइन्।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हाम फालेकी सञ्जुको नदीसँगको बगरमा बजारिएर मृत्यु भएको प्रहरीले अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठोकिएर मृत्यु भएको देखिएको र घटना बारे थप अनुसन्धान भइरहेको छ।
‘प्रारम्भिक अवस्थालाई हेर्दा उनले त्रिशुलीमा हाम फालेको जस्तो देखिएको छ, थप अनुसन्धान जारी छ’ उनले भने।
बगरमा मृत अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पुर्याइएको थियो तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे। उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
करिब ६ महिना अघि मात्र सञ्जु र मौसमबीच विवाह भएको थियो । तर दुई जनाबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् ।
उनीहरुबीच विवाद भइरने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घटना घटेको हुनसक्ने स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ।
घटनाबारे थप जानकारी र अध्ययनका लागि महिलाको शव पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए। घटनापछि बेहोस भएका पति मौसम खातीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।


























