काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भएको छ। मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ। प्रधानमन्त्रीले झोलिलो खानेकुरा खान थालिसकेका छन्, अवस्था सामान्य बन्दै गए अबको एक सातामा उनलाई डिस्चार्ज गरिनेछ।
प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार भएको थियो। होसमा आएपछि चिकित्सकले आँखा खोल्न आग्रह गर्दै भने, ‘तपाईंलाई कस्तो छ, दुखेको छ ?’ लगत्तै प्रधामन्त्री ओलीले भने, ‘अँ, मलाई दुखेको छैन।’ प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालेको र प्रधानमन्त्रीलाई बिहीबारबाट तरल खानेकुरा दिन सुरु गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचकहरू सामान्य अवस्थामा रहेको पनि अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीका निजी चिकित्सक एवं प्रत्यारोपण टिममा संलग्न मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले सहज तरिकाले काम गर्न थालिसकेको छ। उनले भनिन्, ‘प्रत्यारोपण गरिएको मिर्गौलाले पनि एकदम राम्रो काम गर्न थालिसकेको अवस्था हो। झोलिलो कुराहरू खान थाल्नुभएको छ।’ प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि स्थिर रहेको छ।


























