काठमाडौं, फागुन २३ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज नामिबियामा हुँदैछ।
त्रिदेशीय सिरिजमा घरेलु टोली नामिबियासँगै नेपाल र स्कटल्याण्ड रहने छन्।
विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ को सातौं चरणको सिरिज अप्रिल २० देखि २७ सम्म चल्नेछ।
सिरिजमा हरेक टिमले दुई खेल खेल्ने छन्। खेलको तालिका भने सार्वजनिक भएको छैन।
तर, घरेलु टोली नामिबियाले लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज अघि नेपाल र स्कटल्याण्डसँग टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समेत खेल्ने चाहना व्यक्त गरेको छ।
टी-ट्वान्टी सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई प्रस्ताव गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिब अशोकनाथ प्याकुरेलले एकदिवसीय सिरिज अगाडी टी-ट्वान्टी सिरिजका लागि नामिबियाले प्रस्ताव गरेको जानकारी दिए।
नामिबियाले प्रस्ताव गरेपनि टी-ट्वान्टी सिरिज हुने नहुने तय भईनसकेको उनले बताए।
आईसीसी विश्वकप लिग-२ मा ७ राष्ट्र सहभागी रहेका छन्। हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन्। जसमा अंक तालिकाको शिर्ष तिनमा अटाउने राष्ट्रले एक दिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छ।
तालिकाको शिर्ष तिनमा स्थान नबनाउने राष्ट्रले विश्वकप छनोटको लागि प्लेअफ खेल्नु पर्ने छ।


























