कपिलवस्तु, फागुन २२ । कपिलवस्तुका दुई स्थानमा स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा गएराति आगजनी गरिएको थियो। ती गाडीहरु हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन्।
घटनास्थलमा भेटिएको पर्चामा शर्मा एण्ड शर्मा कम्पनीले विकास निर्माणको नाममा लुट मच्चाएको आरोप लगाइएको छ। गुणस्तरहीन काम गरेको, निर्माणको क्रममा भएको क्षतिको क्षतिपूर्ति नदिएको लगायतका आरोप पनि लगाइएको छ।
गएराति करिब एक बजेतिर विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा तथा शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको थियो। आगजनी गर्ने क्रममा सडक निर्माणको काममा खटिएका कर्मचारीहरुलाई कोठाभित्र थुनिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

























