बुटवल, फागुन २२ । कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राति अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा सवारी साधनमा आगजनी गरेको छ।
शिवराज नगरपालिकाकोे वडा नम्बर ९ तुरुन्तपुरमा बुधबार राति पौने १ बजे एउटा स्काभेटर अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ।
यस्तै विजयनगर गाउँपालिकाको वडा नम्बर २ लोहोरौलामा एउटा स्काभेटर, दुईवटा जेसिभी, दुईवटा पिकअप बोलेरो जलाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।
आगजनी भएका साधन हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ। ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नम्बरको बोलेर र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको गणेशपुर प्रहरीले जनाएको छ।
राति सडक बनाउने कामदारलाई अज्ञात समूहले कोठामा बन्द गरी साधनहरुमा आगजनी गरेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए। नेपालका अनुसार कृष्णनगरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको छ। आगो कसले किन लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुका डिएसपी सुनिल मल्लले बताए।

























