काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी ओलीलाई अबको चार दिनसम्म आईसीयूमै राखेर स्वास्थ्य परीक्षण गरिने भएको छ। बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपणपछि चिकित्सकहरुले चार दिनसम्म आईसीयूमै राखेर परीक्षण गर्ने बताएका हुन्।
‘हामीले सोचेभन्दा सजिलैसँग प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्मपन्न भएको छ’, चिकित्सकलाई उद्धृत गर्दै नेकपा नेता महेश बस्नेतले भने, ‘अबको चार दिनसम्म आइलोसेसन सुविधासहितको आईसीयूमा राखेर उहाँको स्वास्थ्य परीक्षण हुनेछ।’
आईसीयू कक्षामा प्रधानमन्त्री ओलीको पिसाबसहित अन्य शारीरिक अवस्थाको मनिटरिङ गरिनेछ। मिर्गौला प्रत्यारोपणका लागि भएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा राखिएको हो।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो। चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका थिए। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीना भारतीय चिकित्सकसमेत थिए।
पहिलो पटक भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियन सहभागी भएका हुन्। ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।
अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरेका थिए। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शनसमेत गरे।
अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। अस्पतालमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन्।
शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्।


























