काठमाडौं, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै सभा-सम्मेलन स्थगित गरेको छ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले पार्टीका सबै सभा(सम्मेलन स्थगित गरिएको जानकारी दिएका हुन्।
‘कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएको छ। यसको असर नेपालमा पनि पर्न सक्ने देखिएकाले पार्टीले गर्ने सभा सम्मेलन र पूर्वनिर्धारित सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छौं,’ प्रवक्ता शर्माले भने।
विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको प्रवक्ता शर्माले बताए।
यद्यपि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहने शर्माले बताए।
शर्माले सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेको स्मरण गराउँदै प्रवक्ता शर्माले जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा कांग्रेसको सम्पूर्ण साथ रहने बताए।
कांग्रेसले सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हार्दिक अपील गरेको छ।
शर्माले त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई आग्रह गरे।
कोरोना संक्रमणबारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने पनि शर्माले बताए।


























