काठमाडौं, फागुन २१ । नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।
बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो।
इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ। र एसिया कप खेल्ने नेपालको सपना समेत सकिएको छ।
अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन।
अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। समान खेलमा मलेसिया र हङकङको समान ४/४ अंक रहेको छ। नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ।
शीर्ष स्थानमा रहेको सिंगापुर एक खेल अगाबै एसिया कप छनोटमा पुग्न सफल भएको छ। एसिया कप छनोटमा पुग्ने अर्को राष्ट्रको टुंगो भने शुक्रबार लाग्ने छ।
मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन्।
यस प्रतियोगिताको फाइनल पुग्ने टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो।
तर, सुरुवाती दुई खेलमा लगातार हार व्यहोरेपछि नेपालको एसिया कप छनोट पुग्ने सपनामा धक्का लागेको थियो।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो।
तेस्रो खेलमा भने आयोजक थाइल्याण्डविरुद्ध ९ विकेटको कीर्तिमानी जित निकाल्दै नेपालले शीर्ष दुईमा रहने गणितीय सम्भावना कायम राखेको थियो।
तर, हङकङलाई सिंगापुरले पराजित गरेसँगै नेपाल बाहिरिएको हो।
अब नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ।


























