काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेलेका अनुसार प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन। त्यसैले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुने उनले बताए।
प्रधानमन्त्री ओलीको एउटा मिर्गौला २०६४ सालमै भारतको एपोलो अस्पतालमा पहिलो पटक प्रत्यारोपण गरिएको थियो। त्यतिबेलादेखि नै तीनवटा मिर्गौला रहेको शरीरमा आज अर्को मिर्गौला प्रत्यारोपण गरेसँगै चारवटा मिर्गौला हुन्छन्। ‘पहिले नै प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ,’ डा. काफ्लेले भने, ‘त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन्। त्यसैले प्रधानमन्त्रीको शरीरमा चारवटै मिर्गौला हुन्छ।’
ओलीको मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने उनले बताए। मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने उनले बताए। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै जना सोमबार नै अस्पताल भर्ना भएका थिए।


























