काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका छन्। मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन्। खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए। त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो। खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन्। राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए।
साथै सूचना तथा प्रविधि मन्त्रीको जिम्मेवारी पनि डा खतिवडालाई नै दिइएको छ। संविधानअनुसार, डा.खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन्। त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन्।


























