चितवन, फागुन २१ । कोरोना भाइरसका कारण सरकारले मानिसहरूको भीड तथा बढी कोलाहल हुने खालका कार्यक्रम नगर्न आग्रह गरेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका कुनै पनि संघसंस्थालाई खुला ठाउँमा सार्वजनिक कार्यक्रम नगर्न नगराउन निर्देशन दिएको छ। छिमेकी देश चीनबाट सुरू भएर विश्वका ७६ भन्दा बढी देशमा फैलिएको कोरोनाबाट नेपाल चोखो रहे पनि सँगै सिमाना जोडिएको देश भएकोले उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको बेला सरकारले ‘भ्रमण वर्ष–२०२०’ समेत स्थगित गरिसकेको छ।
चितवनमा यतिबेला मेलामहोत्सव चलिरहेको छ। तर, ती सबैलाई तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अब हुने मेलामहोत्सव पनि तत्काललाई स्थगित गराइसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘हामीले भइरहेकालाई रोक्ने, हुन लागेकालाई स्थगित गराउने र नयाँ कार्यक्रमको लागि अनुमति नदिन निर्देशन जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने।
चितवनमा कोरोनाको डर नभए पनि सम्भावित घटनाबाट टाढा रहन हुल हुज्जत हुने खालका कार्यक्रम नगर्न आग्रह गरिएको उनले बताए। योसँगै यसवर्ष चितवनमा फागु पर्वको अवसरमा हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना नै जारी गरेर फागु पर्वलाई सार्वजनिकरूपमा नमनाउन आग्रह गरेको हो। ‘पारिवारिक जमघटलाई हामीले रोक्दैनौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘तर, विगतका वर्षहरूमा जस्तो धुमधामले मनाउने अवस्था यसवर्ष रहँदैन।’
प्रशासनले जारी गरेको सूचनालाई बेवास्ता गरी कसैले त्यस्ता खालका गतिविधि गरे कानुनी कारवाहीमा समावेश गराइने चेतावनी दिए। पहाडी र तराईको संगमस्थल भएकोले पनि चितवनमा दुबै दिन फागु पर्व धुमधामले मनाइँदै आएको छ। काष्ठमण्डप टेलिभिजन, कालिका मिडिया, ग्रेट एफएमलगायतका सञ्चार गृहहरूले फागु विशेष कार्यक्रम गर्ने तयारी गरेका थिए।
तर, प्रशासनले कार्यक्रम गर्न रोक लगाएपछि ती सबै संस्थाले कार्यक्रम नगर्ने जानकारी गराइसकेको प्रशासनले जनाएको छ। ‘त्यस्ता कार्यक्रम गर्नैपर्छ भन्ने अनिवार्य छैन,’ उनले भने, ‘मनोरञ्जनका लागि मात्रै गरिने यस्ता कार्यक्रमलाई यसपटक समयले रोकेको हो, हामीले होइन।’ भरतपुरमा जारी भरतपुर महोत्सव र मेघौलीमा जारी मेघौली पर्यटन महोत्सवसमेत स्थगित गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको उनले बताए।
राप्ती १ मा हुन लागेको परेवाकोट महोत्सव र देवघाटधाममा हुन लागेको धार्मिक सम्मेलन पनि स्थगित गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए। महोत्सव आयोजक समितिले पनि प्रशासनको आग्रह र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पूर्व निर्धारित समयअनुसारको महोत्सव स्थगित गरिएको जानकारी गराएको छ।
घण्टाचुली महोत्सव स्थगित
तनहुँ जिल्ला प्रशासनले पनि जिल्लामा त्यस्ता कुनै पनि खालका कार्यक्रम नगर्न निर्देशन दिएको छ। प्रशासनले दिएको निर्देशन अनुसार फागुन २३ गतेबाट हुने भनिएको ‘दोस्रो घण्टाचुली पर्यटन महोत्सव’समेत स्थगित गरिएको छ। सरकारले गरेको निर्णयलाई स्वीकार गर्दै पूर्व तयारी भइसकेको कार्यक्रम पनि स्थगित गर्न बाध्य भएको घण्टाचुली पर्यटन महोत्सवका संयोजक खड्का आलेमगरले जानकारी दिए।
कहीँकतै मानिसहरूको भीड हुने खालका कार्यक्रम भएको रहेछ भने पनि त्यस्ता स्थानमा नजान प्रशासनले सबैमा आग्रह गरेको छ।


























