नयाँ दिल्ली, फागुन १९ । गत साता हिंसात्मक घटनाको सामना गरेको भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला परेको बताइएको छ।
भारतको संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलंगानामा एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।
नयाँ दिल्लीमा भेटिएका कोरोना संक्रमित केही दिनअघि युरोपको कोरोना इपिसेन्टर इटालीबाट फर्किएको बताइएको छ। उनलाई आरएमएल अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।
तेलंगानामा भेटिएका कोरोना संक्रमित केही दिनअघि दुबईबाट फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी स्वास्थ्यमन्त्री हर्ष वर्दनका अनुसार कोरोना संक्रमित मुलुकबाट आएका करिब २५ हजार नागरिकको जाँच भइरहेको र उनीहरुलाई निगरानीमा राखिएको बताएका छन्।
उनका अनुसार भारतका १९ क्षेत्रमा कोरोना जाँच केन्द्र स्थापना गरिएका छन्।
यसअघि केरलामा पनि कोरोना संक्रमित भेटिएका थिए। उनीहरुको उपचारपछि घर फर्काइएको बताइएको छ।
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट करिब तीन हजारको मृत्यु भइसकेको छ भने ८९ हजार संक्रमित भएका छन्।
इरानमा ५० जनाको मृत्यु भएको छ भने इटालीमा ३० जनाको मृत्यु भएको छ। दक्षिण कोरियामा चारहजार भन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ भने १७ जनाको मृत्यु भइसकेको छ।

























