फागुन २० । विश्वव्यापी रुपमा बिस्तार हुँदै गएको कारोना भाइरस (कोभिड–१९) को संक्रमणबारे विश्व नै अनविज्ञ अवस्थामा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
डब्लुएचओका प्रमुख डा.टेड्रोस अड्हनोम गेब्रियेसुसले कोभिड–१९ भाइरस फरक अर्थात ‘युनिक’ रहेको तर सही उपया अपनायमा नियन्त्रणमा आउने बताएका छन्।
विश्वव्यापी रुपमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको छ। मृत्यु हुने अधिकांश चीनका छन्, तर पछिल्ला केही दिनमा चीनको तुलनामा अरु देशमा नयाँ संक्रमण बढी देखिएको छ।
डब्लुएचओका प्रमुख डा. टेड्रोसले भने, ‘हामीले यो भाइरसलाई रोक्न सक्छौँ।’ तर यसका लागि सबैभन्दा ठूलो जोखिम भाइरसलाई लिएर मानिसले बनाएको धारणा वा भय सबैभन्दा भयानक रहेको उनले बताएका छन्।
कोरोनाको संक्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उनले बताए।
चीन बाहिर कोरोनाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएको देश हो इटाली। इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सोमाबार ३४ बाट ५२ पुगेको छ।
विश्वका ७० देशमा कोरोनाको संक्रमण देखिएको छ, यद्यपि संक्रमितको संख्या ९० प्रतिशत भन्दा बढी चीनमा नै छ। चीन बाहिर झण्डै ८ हजार जनामा संक्रमण देखिएको छ, त्यसको ८१ प्रतिशत इरान, दक्षिण कोरिया, इटाली र जापानमा रहेको छ।
इटालीमा सोमबार थप १८ जनाको मृत्यु भयो भने कुल १८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। इरानमा अहिलेसम्म कम्तिमा ६६ जनाको मृत्यु भएको छ।
अमेरिकाको वासिङ्गटनमा सोमबार थप चारजनाको मृत्यु भएसँगै कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

























