काठमाडौं, फागुन १९ । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो। उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो।
शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको पठाइएकोमा सोमबार रिपोर्ट आउँदा कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यसअघि विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली आइतबार क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबार घर फर्किएको थियो।
नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औँ दिनमा घर फर्काइएको हो।
उनीहरुलाई क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा समेत पुगेर बिदाइ गरेका थिए।


























