फागुन ९ । युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनलले जित हासिल गर्दा म्यान्चेष्टर युनाईटेड बराबरीमा रोकिएको छ।
बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई पराजित गर्दा युनाईटेडले बेल्जियमको क्लब ब्रुगासंग बराबरी खेलेको हो।
ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे।
बराबरीतर्फ उन्मुख खेलमा बुकायो साकाको क्रसमा ८१ औ मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन्।
लण्डन क्लबका फरवार्ड पछिल्लो समय गोलका लागि संघर्ष गर्दै आएका थिए। उनले पहिलो हाफमा पोस्ट नजिकैबाट गोलको राम्रो अवसर गुमाएका थिए।
दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ।
यस्तै, प्रिमियर लिग क्लब युनाईटेडले बेल्जियमका क्लब ब्रुगासंग १–१ गोलको बराबरी खेलेको छ। खेलको १५ औ मिनेटमा घरेलु टोली क्लब ब्रुगाले डेनिसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो।
एन्थोनी मार्टियलले ३६ औ मिनेटमा पाहुना टोली युनाईटेडका लागि बराबरी गोल फर्काएका थिए। भारी बर्षाका बीच भएको खेलमा युनाईटेडले खासै राम्रो प्रर्दशन गर्न सकेन।
दोस्रो लेगको खेल युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा फेब्रुअरी २७ मा हुनेछ। एजेन्सी


























