फागुन, ८ । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगका खेलहरु बिहिबारबाट सुरु हुँदैछ।
अन्तिम ३२ को खेल अन्तर्गत बिहिबार राति म्यानचेस्टर युनाइटेड, आर्सनल, रोमा, स्पानियोल, सेभिया, इन्टर मिलान, आयाक्स र बेन्फिका लगायतका क्लबले पहिलो लेगको खेल खेल्ने छन्।
इन्ग्लिश क्लब युनाइटेडले बेल्जियमको क्लब ब्रुगासँग उसैको मैदानमा खेल्नेछ। खेल नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेटमा सुरु हुनेछ।
ब्रुगाविरुद्ध युनाइटेड जित निकाल्दै घरेलु मैदानको दोस्रो लेग सहज बनाउने लक्ष्यमा रहेको छ। यस्तै ब्रुगा पनि घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाउने योजनामा हुनेछ।
आर्सनलले ओलम्पिकाओससँग उसैको मैदानमा खेल्नेछ। खेल राति पौने २ बजे सुरु हुनेछ। स्पेनिस क्लब सेभियाले सिएफआर क्लुजसँग उसैको मैदानमा खेल्नेछ।
यस सिजन उत्कृष्ट लयमा रहेको इटालियन क्लब इन्टरले लुडोगोरेट्स राज्ग्राडसँग खेल्नेछ। आयाक्सले स्पेनिस क्लब गेटाफेसँग खेल्दा बेन्फिकाले शाख्तर डोनेक्स्टसँग खेल्नेछ। रोमाले जेन्टसँग खेल्दा वुल्भ्सले स्पानियोलसँग खेल्नेछ।
यस्तै स्पोर्टिङ सिपीले स्तानबुलसँग खेल्दा फ्रान्कफर्टले साल्जवर्ग तथा सेल्टिकले एफसी कोएबेनहभनसँग खेल्नेछ। एजेन्सी

























