काठमाडौं, फागुन ५ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल बढेका छन्। क, ख, ग र घ वर्गका बैंक तथा वित्तीइ संस्थाहरुको संख्या चालु आर्थिक वर्षको ६ महिनासम्म ९ हजार ३ सय ९४ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तसम्म ६ हजार ६ सय ५१ मात्रै थिए। यस्तो संख्या बढेर गत २०७६ असारसम्म ८ हजार ६ सय ८६ पुगेको थियो। त्यो सङ्ख्या पुस मसान्तसम्म आइपुग्दा ९ हजार ३ सय ९४ पुगेको राष्ट्र बैंकले बताएको छ।
शाखा सञ्जालको संख्या बढेपनि अझै ८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन। सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने घोषित सरकारी नीति अनुसार बैंकहरुले स्थानीय तहहरु भागवण्डा गरेर शाखा खोल्न शुरु गरेका थिए।
तर, ८ स्थानीय तहमा भने भौगोलिक विकटताका कारण बैंकहरुले शाखा खोल्न नसकेको राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ भने एउटा स्थानीय तहमा अझै पुग्न सकेको छैन।
प्रदेश २ को १३६ स्थानीय तहमध्ये एउटामा अझै वाणिज्य बैंक पुग्न सकेको छैन भने वागमती प्देशको ११९ स्थानीय तहमध्ये २ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न नसकेको राष्ट्र बैंकले बताएको छ।
यसैगरी गण्डकीको एक, कर्णालीको एक र सुदूरपश्चिमको २ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन भने प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगिसकेको राष्ट्र बैंकले बताएको छ।


























