बुटवल, माघ २९ । एचआइभी संक्रमणबाट रुपन्देहीमा एक वर्षमा ३४ जनाको मृत्यु भएको छ। एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा २७ पुरुष र ७ जना महिला छन्। मृत्यु हुनेमा ८० प्रतिशत बढी रुपन्देहीमा रहेका फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापित एआरटी सेन्टरमा १ हजार २ सय २० जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका र ती मध्ये ९ सय ७३ जना रुपन्देहीका रहेका उनले बताए।
गत वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा रगत जाँच गर्दा ६९ जना नयाँ संक्रमित फेला परेका र संक्रमित आमा–बुबाबाट जन्मेका ९ जना शिशुमा एचआइभी संक्रमण नभेटिएको कार्यक्रम संयोजक भट्टराईले बताए। एचआइभी संक्रमित आमा वा बुबाले नियमित औषधी सेवन गरेमा बच्चामा संक्रमण हुनबाट जोगिने उनले बताए।
एड्स हेल्थ फाउण्डेसनको तथ्याङ्क अनुसार हाल नेपालभर २९ हजार ९ सय ४४ जना एचआइभी संक्रमित रहेका र १६ हजार ९ सय १३ जनाले मात्र एआरटी क्लिनिकबाट नियमित औषधी सेवन गरिरहेका छन्। एचआइभी संक्रमितका लागि निशुल्क औषधी वितरणका लागि नेपालभर ७८ वटा क्लिनिक र २२ वटा औषधी वितरण केन्द्र रहेका छन्।
विश्वमा तीन करोड ६९ लाख जनसंख्यामा एचआइभी संक्रमण रहेको तथ्याङ्क छ।


























