सिन्धुपाल्चो, माघ २९ । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन्। यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन्। गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन्।
गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिए ।
बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन। संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए।
कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानमा सघाइदिन आग्रह गरिएको छ।


























