नवलपुर, माघ २७ । गैँडाकोटस्थित नारायणी नदी किनारमा भएको तेस्रो गैँडाकोट महोत्सव सोमबार सकिएको छ। उद्योग वाणिज्य संघ गैँडकोट, नवलपुरले आयोजना गरेको महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालको उपस्थितिमा समापन गरिएको हो। महोत्सवलाई करिब तीनलाख भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ।
माघ १५ गतेदेखि सञ्चालनमा आएको महोत्सवबाट लक्ष्यअनुसारको आर्थिक कारोबार गर्न समेत सफल भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए। आयोजकले महोत्सवबाट करिब ४० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको थियो। महोत्सवको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको बताए।

नवलपुर क्षेत्रलाई लक्षित गर्दै केबुलकारसहित अन्य परियोजना सञ्चालन गर्ने तयारी भइरहेको समेत उपाध्यक्ष ढकालले बताए। गैँडाकोट महोत्सवले यस क्षेत्रको समग्र अर्थतन्त्रको विकासका साथै स्थानीय उत्पादन प्रवर्द्धन गर्नमा समेत टेवा पुर्याएको उनको भनाइ छ। १३ दिनसम्म चलेको महोत्सवमा थारु, गुरूङ, कुमाल, दरै। चेपाङ, थकालीसहित विभिन्न नौ वटा आदिवासी जातजातिका सांस्कृतिक घर समेत निर्माण गरिएको थियो।
उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतलाई आकर्षणको केन्द्र बनाइएको थियो। त्यस्तै, विदेशी संस्कृतिको अवलोकन गराउने उद्देश्यले महोत्सव अवधिभर रसियन कलाकारहरूमार्फत बेली डान्सको समेत व्यवस्था मिलाइएको थियो।
सोमबार अर्थात् महोत्सवको अन्तिम दिन लोक दोहोरी गायिका मञ्जु पौडेल, चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीसहित स्थानीय कलाकारले प्रस्तुति दिएका थिए। महोत्सव अवधिभर, पशुपति शर्मा, दुर्गेश थापा, दुर्गा सापकोटा, कमला घिमिरे, दीपक खड्कालगायतका कलाकारहरूले सांगितिक प्रस्तुति दिएका थिए।



























