चितवन, माघ २८ । कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ। अण्डा, चल्ला र मासुको उत्पादन बढी भएपछि वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन्।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए। गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको उनले बताए। देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको उनको भनाइ छ।
गएको एक वर्षमा छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो। यसरी हेर्दा एक वर्षमा रु चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले बताए।
यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले बताए। मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ। ‘एक वर्षमा नौ अर्ब ७२ करोड रूपैयाँ नोक्सान भएको छ,’ उनले भने।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओलीले नेपालमा दैनिक ५० लाख अण्डामा सरदर प्रतिगोटा तीन रूपैयाँको दरमा नोक्सान भएको बताए। अण्डाबाट एक वर्षमा रु तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले बताए। ‘देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भइसकेका छन्,’ उनले भने।
यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ। पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउँछन्। अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ। बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ।
उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्कोतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनले बताए। एक वर्षअघि प्रतिकिलो रु २९ को मकै अहिले रु ३८ पुगेको छ भने रु ५६ को भटमास रु ७२ सम्म पुगेको डा भट्टराईले बताए। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराईले ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको रु १० र मासु प्रतिकिलो रु ३३० पर्ने बताए। ‘अहिले बजारमा दानाको मूल्य रु ५३ देखि रु ६४ सम्म पर्ने गरेको छ,’ उनले भने।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्षसमेत रहेका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताए। यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ। यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ। लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण सुरु गरेका छन्।
हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न सुरु गरिएको छ। यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन्। मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन्। बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ। – रासस


























