काठमाण्डौं, माघ २५। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११ औ चरणका अन्तिम तीन खेल हुँदैछन्। २ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ।
आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ। खेल दिउँसो ३ बजे हुनेछ।
यस्तै, दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच खेल हुनेछ। आयोजकका अनुसार, दिउँसो ३ बजे सोही मैदानमा ललितपुरे डर्बी खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ।
अघिल्लो चरणा च्यासलसँग पराजित भएपछि साविक विजेता मनाङको उपाधि रक्षा अभियान कठिन बनेको छ। एक खेल कम खेलेको मनाङ लिग लिडर आर्मीभन्दा ७ अंकले पछि छ। झिनो अंकगणितीय सम्भावनामात्र बाँकी रहेको मनाङले एनआरटीलाई पराजित गरेमा २२ अंक जोड्दै तेस्रो स्थानमा उक्लनेछ। १० खेलबाट १९ अंकसहित मनाङ हाल चौथो स्थानमा छ।
यस्तै १० खेलबाट १५ अंक रहेको एनआरटी छैटौं स्थानमा छ। शीर्ष ६ मा अटाउने लक्ष्य राखेको एनआरटीले मनाङलाई पराजित गरेमा पाँचौं स्थानमा उक्लनेछ। नेपाल पुलिस ११ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा छ।
एनआरटी समान १५ अंक जोडेको जावलाखेल र फ्रेण्ड्ससँग १४ अंक जोडेको फ्रेण्ड्स ललितपुर डर्बीमा भिड्दा दुवैको नजर शीर्ष ६ मै हुनेछ। जितले एनआरटी र फ्रेण्ड्स दुवैको शीर्ष ६ होड बलियो हुनेछ। यस्तै अर्को ललितपुरे क्लब च्यासलको लागि पनि शीर्ष ६ मा रहन हिमालय शेर्पा क्लबविरुद्धको खेल महत्त्वपूर्ण छ। १० खेलबाट १२ अंक जोडेको च्यासल १० औं स्थानमा छ।


























