काठमाण्डौं, माघ १२ । एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन्। उनको साथमा रहेको ५० लाख लुटपाट भएको हो। नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटपाटमा परेका हुन्।
प्रहरीका अनुसार उनी ‘बल्ने ढुंगा’ किन्नका लागि काभ्रेस्थलीको जंगलमा पुगेका थिए। गत शुक्रवार उनी उक्त ढुंगा किन्नका लागि गएका थिए।
साथीहरुले बल्ने ढुंगा किन्दा पछि एक करोड भन्दा महंगोमा बेच्न पाइन्छ भन्ने सुनाएपछि उनी पैसा बोकेर बल्ने ढुंगा बेच्ने मानिसलाई भेट्न त्यहाँ गएका थिए। तर त्यहाँ भेला भएका लुटेराको समूहले उनीसँग भएको ५० लाख लुटपाट गरेका थिए।
लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले बताए।
गुरुङले भने आफूलाई जग्गाको बैना गर्न बोलाएर लुटपाट गरिएको प्रहरीलाई बताएका छन्। लुटपाटमा संलग्न अन्य पनि जग्गा प्लटिङमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गुरुङसँग साथमै गएका साथी पनि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।