चितवन, माघ ११ । रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पारेकाछन्। प्रतियोगितामा उनले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए।
यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिष थापामगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहेकाछन्। उनीहरुले क्रमशः ४२ मिनेट ४१ सेकेन्ड र ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरे।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो। क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डारादेखि शुरु भएको म्याराथोन रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो।
प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा चेपाङ धावक र विदेशीसहित ३५२ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
यस्तै प्रतियोगितामा दश नम्वरसम्म आउने धावकलाई रु एक हजार नगदले सम्मान गरिएको छ। त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए। प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र मिस नेपाल अर्थ रीया बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा गरिएको यस कार्यक्रमले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा भ्रमण वर्षको सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष पोख्रेलले बताए। क्लबका सदस्य र दाताको सहयोगमा कार्यक्रम गरिएको हो। रासस