सुर्खेत, माघ ११ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपालाई सरकारले आधारभूत रुपमा नियन्त्रण गरेको बताएका छन्।
गृहमन्त्री थापाले सरकारले विप्लवलाई कम्जोर पारेको बताए। छिटफुट गतिविधी भएपनि विप्लवलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउने प्रक्रिया जारी रहेको बताए।
संविधान विरोधी तत्वलाई सरकारले कानुन अनुसार कारबाही गरिरहेको र वार्तामार्फत समस्या समाधान गर्न लागि परेको गृहमन्त्री थापाले उल्लेख गरे।
उनले भने, ‘अहिले विप्लवका धेरै नेताहरु मूलधारको राजनीतिमा आईसकेको र अझै पनि आउने क्रम जारी रहेको छ, ठूला(ठूला नेताहरु मूलधारमा ल्याउनका लागि वार्ता भईरहेको छ, विप्लव नेतृत्वको नेकपा पूर्णरुपमा नियन्त्रण हुन्छ।’
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका बादलले शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै देशमा संविधान र राज्यविरोधी तथा विखण्डनकारी अराजक तत्व नियन्त्रण गर्ने प्रक्रिया दृढतापूर्वक भईरहेको बताए।
संविधान विरोधी र विखण्डनकारीलाई निस्तेज गर्न सरकार सफल हुने समेत थापाले दाबी गरे।





















