काठमाण्डौं, माघ ९ । गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन्। तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् ।
नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन्। अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर) रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन्। तर, पछिल्लो १ महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले जानकारी दिए।
‘शुरुमा म्यासेन्टरमार्फत उनी (दर्शना)सँग कुरा भइरहन्थ्यो,’ मेयर शाहीले भने, ‘तर, मंसिरको दोस्रो साता यतादेखि भने कुरा भएको छैन।’
नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन्। तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन्।
‘उनीसँग मंसिर दोस्रो सातातिर कुरा हुँदा बिरामी छु भनेकी थिइन्। उपचार सकिएपछि नेपाल फर्किन्छु भन्थिन्’ शाहीले सुनाए, ‘तर, १ महिनाभन्दा बढी भइसक्यो, उनीसँग सम्पर्क भएको छैन। के कारणले उनी सम्पर्कमा आउन सकेनन् भन्ने कुरा पनि केही थाहा हुन सकेको छैन।’
उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन्।
उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्। तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो।


























