काठमाण्डौं, माघ ९ । १८ सदस्यका लागि आज राष्ट्रिय सभाको मतदान हुँदैछ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका ४ को समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान हुनेछ।
यस्तै प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सात प्रदेशमा ५ सय ५० जना प्रदेश सदस्य र एक हजार ५ सय ६ पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ। मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन्। जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ। जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना चुनावमार्फत छानिने छन्।


























