धादिङ, माघ ९ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न यस्तो निर्णय गरेको जनाएको छ। मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले प्रशासन कार्यालयलाई यस्तो निर्णय गराउन बाध्य बनाएको हो। उक्त घटनामा ३२ भन्दा बढी यात्रु घाइते भएका थिए।
बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाजसहितको सर्वपक्षीय बैठकले सहमतिमा उक्त निर्णय गरेको हो। बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेकोे छ।
बैठकमा सिटभन्दा बढी यात्रु चढाउने तथा मालबहाक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए। ‘सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारवाही गर्नेछौँ,’ उनले भने।
बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ।
ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय गरेको छ।
जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्णरूपमा बन्द गर्ने सहमति गरिएको छ। बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो। – रासस