काठमाण्डौं, माघ ४ । मनमोहन मेमोरियल एक दिवसीय (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ। उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्दै छन्।
बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलमा पुग्दा आर्मीले प्रदेश तीनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो।
आर्मीले समूह चरणमा एपीएएफलाई १०८ रनले पराजित गरेको थियो भने अर्को खेलमा आयोजक मदनभण्डारी स्पोर्टस क्बलाई १० विकेटले पाखा लगाएको थियो। सेमिफाइनलमा भने आर्मीले प्रदेश तीनलाई ६४ रनले पराजित गर्दै फाइनलमा पुग्यो।
यस्तै अर्को फाइनल पुगेको टिम नेपाल पुलिस क्लबले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने अर्को खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सेमिफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो। पुलिस मञ्जीत श्रेष्ठको कप्तानीमा रहेको छ भने आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ।
पुलिसको टिममा मञ्जीतसँगै सुनिल धमला, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, अनिल साह, पवन शर्राफ, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, ललित भण्डारी, सागर ढकाल र ललितनारायण राजबंशी रहेका छन्।
आर्मीको टिममा विनोद भण्डारीसँगै हरिशंकर झा, अनिल मण्डल, हरिबहादुर चौहान, रोहित पौडेल, राजेश पुलामी, भीम शार्की, कुशल मल्ल, बिक्रम सोब, शुसन भारी र सहाब आलम छन्।


























