काठमाण्डौं, माघ ३ । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासासुगु आसाकावाले शुक्रबारबाट आफ्नो कार्यभार सम्हालेका छन्। गत जनवरी १६ मा यसअघिका अध्यक्ष ताकेहीको नाकाओको कार्यावधि सकिएपछि आसाकावालाई एडिबीको नयाँ अध्यक्ष नियुक्त गरिएको थियो।
पदभार सम्हालेलगत्तै मासासुगुले आफूले एडिबीका ६८ सदस्य राष्ट्रसँग निकटताका साथ समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। ‘एडिबीले आधा शताब्दीदेखि एसिया तथा प्रशान्त क्षेत्रका जनताको जीवनमा उल्लेखनीय सुधार ल्याउन विश्वसनीय साझेदारका रूपमा काम गर्दै आएको छ।
मलाई विश्वास छ आगामी दिनमा एडिबीले आफ्ना ग्राहक तथा साझेदारसँग अझै प्रभावकारी ढङ्गले काम गर्नेछ,’ फिलिपिन्सको मनिलास्थित एडिबी मुख्यालयमा कार्यभार सम्हालेपछि उनले भने।
आसाकावाले यसअघि जापानको अर्थ मन्त्रालयमा उच्च पदमा रहेर काम गरिसकेका छन्।
Facebook Comments


























