काठमाण्डौं, पुस २६ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबारदेखि छैटौँ चरणका खेल सुरु हुँदैछ। शनिबार दुईवटा खेल हुने छन्। पहिलो खेलमा मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो १२ बजेपछि सुरु हुनेछ। यसअघिका पाँच मध्ये तीन खेलमा जित र दुईमा बराबरी गरेको मच्छिन्द्र क्लब १० अंकसहित तालिकको तेस्रो स्थानमा छ।
गएको सिजन पुछारबाट दोस्रो स्थानमा रहेकाले यो सिजन मच्छिन्द्रबाट एक अंक कट्टा भएको छ। यस्तै दुई खेलमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको जावलाखेल ९ अंकसहित पाँचौँ स्थानमा रहेको छ।
शनिबार नै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ। यसअघिका पाँच मध्ये तीन खेलमा जित र दुईमा बराबरी गरेको मनाङ ११ अंकसहित दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानको त्रिभूवन आर्मी क्लबको १२ अंक रहेको छ।