पुस, २६ । युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले बताएको छ। इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ।
तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ। शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ।
यसअघि इरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो। यस्तै इरानमा १७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको कारणबारे अहिले नै निष्कर्षमा पुग्न सक्ने अवस्था नरहेको युक्रेनले पनि बताएको थियो।
युक्रेनको विमान गएको बुधबार इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो।
सोही बिहान इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो। पश्चिमा राष्ट्रले इरानले प्रहार गरेको रेकटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताएका थिए।
लडाकु विमान ठानेर इरानले युक्रेनी विमानमाथि आक्रमण गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले बताएका थिए । यस्तै विमानमा प्रोजेक्टाइल ठोक्किएको देखिएको दाबीसहित भिडियो फुटेज पनि सार्वजनिक भएको छ। एजेन्सी